बुटवल,१ चैत ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको पत्र बिहीबार प्रदेश प्रमुखको कार्यालयमा पठाएको हो ।

सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकाले अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसअघि फागुन २० गते बसेकाे लुम्बिनी प्रदेश सभाको बैठक चैत ४ गते बस्ने गरि स्थगित भएको थियो ।

लुम्बिनी प्रदेशसभा बैठकलाई फागुन १९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले प्रदेश सभालाई छल्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैठक स्थगित गरेको आरोप लगाए । सरकारको उक्त निर्णयसँगै बिहीबार दिउँसो नै नेकपा एमाले संसदीय दलका नेता लिला गिरीसहितका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई भेटेर छलफल गरेकाे बताइएको छ ।