भैरहवा,२७ फागुन ।
भैरहवा भन्सार नाकाबाट बिना कागजात भारततर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको टुथपेस्ट, पाउडर लगायतका सामानसहिदको भारतीय नम्बर प्लेटकाे ट्रक भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।

नेपालबाट बाहिरिने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो ।

भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमका अनुसार खाली ट्रक भनि सामान लोड गरि लैजाँदै गरेको अवस्थामा कागजपत्र नभएको ट्रकसहितको सामान नियन्त्रणमा लिएको हो ।

कागजपत्रबिना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट)बाट नियन्त्रणमा लिइएको उनकाे भनाइ छ । घटनाकाे बिषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

समानसहितको ट्रक नियन्त्रणमा लिए पनि ट्रक चालक र सहचालक भने फरार भएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोजअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको वस्तु रहेको पाइएको छ । नेपालबाट बाहिरिने क्रममा भन्सार अगाडिका कर्मचारीले त्यो गाडी चेकजाँच गर्ने लाग्दा चालकले आनाकानी गरेपछि इलाका प्रहरी कार्यालय बेलहियाको सहयोगमा गाडी
नियन्त्रणमा लिएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले यस अघि पुष ६ गते पनि यसरीनै भारत जान लागेको ट्रकबाट ३ सय ५८ कार्टुन क्लोज अफ टुथपेस्ट बरामद गरेको थियो । बरामद सामानहरू बहुराष्ट्रिय कम्पनीका नेपालका लागि उत्पादन भएको सामान हो । भारतले यि वस्तुको आयातमा प्रतिबन्ध लगाएकोले खाली ट्रक चेकजाँच हुँदैन भन्ने नाममा नेपालबाट अवैध रुपमा भारततर्फ जाने गरेको रहस्य खुलेको छ ।

सीमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू अवैध तरिकाले भारत जाने गरे तापनि भन्सार कार्यालय अगाडि बाटै अहिलेसम्मकै ठूलो मात्रामा सामान बरामद भएको हो । कसले कहाँ को मार्फत पठाइरहेको थियो भन्ने अझै खुल्न सकेको छैन ।

ट्रकको अगाडि मात्रै एउटा नम्बर प्लेट रहेको छ भने पछाडि कुनै नम्बर प्लेट नरहेकोले ट्रक पनि शंकास्पद देखिएको छ । अन्नपूर्ण टर्मिनलले यो नम्बरको गाडी यस नाकाबाट प्रवेश नै नगरेको जानकारी दिएको छ । गाडी अन्यत्रबाट आएर भारत जान लागेको हुन सक्ने टर्मिनलले जनाएको छ ।

नेपाल र नेपाल बाहिर रहेका बहुराष्ट्रिय कम्पनीहरूले पछिल्लो समय सेटिङ मिलाएर भन्सार छलि गर्ने क्रम बढेको बताइएको छ ।

कर्मचारीको सेटिङमा तस्करी भएकाले समातिएका सामान पनि विना कारवाही छोड्ने गरिएको स्रोतको दाबी छ ।