बुटवल,२६ फागुन ।
भन्सार छलेर भित्र्याइएका करिब चार लाख रुपैयाँ मूल्यका जुत्ता-चप्पल बुटवलबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल २७ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको नेतृत्वमा गएको मोवाइल गस्ती टोलीले बुटवल–१३, बाट उक्त परिमाणको जुत्ताचप्पल बरामद गरेको
गणले जनाएको छ ।

गणका सूचना अधिकारी मोहन न्यौपानेद्वारा जारी विज्ञप्तिमा लु १ च ५७९१ नम्बरको बोलेरो गाडीमा भारतबाट ल्याइएका ३ सय ६० थान जुत्ता र ३ सय ५७ जोर बच्चाको चप्पल बरामद गरिएको उल्लेख छ ।

बरामद जुत्ता चप्पलको बजार मूल्य ३ लाख ९९ हवार ३ सय ३० रहेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै, बरामद गाडीको मूल्य ९ लाख बराबर रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा गाडी चालक रुपन्देहीको सम्मरीमाई–७, बेतकुँइयाका २४ वर्षीय रविन्द्र यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको उल्लेख छ ।