नवलपरासी,१७ पुस ।
पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी कार्यक्रममा जनसहभागिता बढ्दै गएपछि राजावादीहरू थप उत्साहित भएका छन् ।

रूपन्देहीको भैरहवा मुकाम बनाएर यस क्षेत्रका धार्मिक भ्रमण तथा अभिनन्दन ग्रहण गरेका पूर्वराजा ज्ञानेन्द्र सहभागी कार्यक्रममा दिनप्रतिदिन जनसहभागिता बढ्दै गएपछि राजावादीहरू थप उत्साहित भएका हुन् ।

एक हप्ता अघि रूपन्देही आएका शाहलाई भैरहवामा स्थानीय तथा राजावादीहरूले स्वागत गरेका थिए भने यही पुस १४ गते कपिलवस्तुकाे चन्द्राैटामा आयाेजित पृथ्वीनारायण शाहको सालिक अनावरण तथा नागरिक अभिनन्दन कार्यक्रममा दशाै हजार जनताको सहभागीता रहेको थियो ।

त्यस्तै आज नवलपरासीको सरावल गाउपालिका स्थित बर्दघाटे कालिका मन्दिरकाे दर्शन तथा अभिनन्दन कार्यक्रममा यसअघिका कार्यक्रममा भन्दा हजारौं बढी जनसहभागिता रहेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रलाई रुपन्देहीको भैरहवामा पुस १९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

साे कार्यक्रममा एक लाख बढी जनसहभागिता गराउने तयारी भएको राष्ट्रिय शक्ति नेपाल केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत रहेका नागरिक अभिनन्दन आयोजक समितिका सदस्य रूपसिं थापाले जानकारी दिए ।

पुर्वराजा ज्ञानेन्द्र सहभागी कार्यक्रममा जनसहभागिता बढ्दै जानुमा अहिलेकाे ब्यवस्थाप्रति जनताको अविश्वास र राजसंस्था माथिको भराेसा भएको राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता ज्ञानुराम भारतीकाे भनाइ छ ।

गणतन्त्रवादीहरूकाे गलत रबैया र मुलुकमा ब्याप्त अब्यवस्थाका कारण जनता राजतन्त्रको पक्षमा उभिन थालेको सुरक्षाविद समेत रहेका अर्का अभियन्ता कान्ता पाैडेलकाे तर्क छ ।

पुर्वराजा सहभागी कार्यक्रममा जनसहभागिता बढ्ने वातावरण गणतन्त्रवादीहरूले नै बनाइदिएको उनको भनाइ छ ।

कार्यक्रममा सर्वसाधारणले राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए ।