बुटवल,२९ साउन ।
नक्कली शैक्षिक याेग्यता प्रमाणपत्रकाे आधारमा जागिर खाएको आराेपमा पक्राउ परेका सिटिजन्स बैंकका ६ कर्मचारीमध्ये ५ जना बुटवल क्षेत्रका रहेको खुलेको छ ।

उनीहरूलाई नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि सोमबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकको केन्द्रीय मुद्दा शाखामा कार्यरत एक जना र रुपन्देहीका बिभिन्न शाखामा कार्यरत ५ जना कर्मचारीलाई प्रहरी परिसर काठमाडौंकाे टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारीलाई पक्राउ गरिएको पुष्टी गरे ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बुटवल शाखाका मनिष मास्के र खिमानन्द गौतम,कालीकानगर शाखाकी कल्पना खत्री र प्रतिक्षा रेग्मी,मणिग्राम शाखाकी गोमा ज्ञवाली तथा काठमाडौ स्थित मुद्दा शाखामा कार्यरत दिपक विष्ट रहेका छन् ।

कर्मचारी पक्राउ बारे सिटिजन्स बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदीप कुमार श्रेष्ठले भने अनभिज्ञता प्रकट गरे ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि अप्रेशन चलाइरहेको छ ।