बुटवल,२९ साउन ।
रुपन्देहीको बुटवल उपमहानगपालिका–१० कालिकानगरमा रोकिराखेको ट्रकमा लागलागी भएको छ ।
कालिकानगरस्थित कालिका पेट्रोल पम्प अगाडि रोकिराखेको प्रदेश २– ०३–१११ ख २५११ नम्बरको ट्रकमा सोमबार दिउँसो एक्कासी आगो लागेको हो ।
चालक र सहचालकले ट्रक रोकेर भित्रै खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ । ट्रकमा लागेको आगो स्थानीय र यात्रीको सहयोगमा निभाइएको थियो ।
आगलागीले मानवीय क्षति नभए पनि ट्रककाे अगाडिको भाग क्षतिग्रस्त भएको छ ।
रोकिराखेका ट्रकभित्रै खाना पकाउने क्रममा यसअघि पनि आगलागीका घटना घट्दै आएका छन् ।






