बुटवल,२६ साउन ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार सम्बन्धी सबै काण्डहरूकाे उच्च स्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

देशको प्रमुख कार्यकारी माथि समेत छानबिन गर्न सक्ने अधिकारसहितको उच्चस्तरीय छानविन आयाेग गठन गर्न जरुरी रहेको उनलेे बताए ।

संगठन सुदृढीकरण अभियानका क्रममा देश दाैडाहमा रहेका भट्टराईले भ्रष्टाचार निर्मुल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै नभएर संरचनागत रूपमै सुधार गर्नेगरी जानूपर्नेमा जाेड दिए ।

आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन मात्रै सरकारले भ्रष्टाचारका बिषयहरु उछाल्ने तर, आफ्ना कुराहरु लुकाउने परिपाटी रहेको भन्दै उनलेे सबै भ्रष्टाचार काण्डकाे स्वतन्त्र र निस्पक्ष छानबिन गर्नुपर्ने आवाज आफुले उठाउदै आएको उल्लेख गरे ।

ललिला निवास जग्गा प्रकरणमा नाम जाेडिएकाे बिषयमा पत्रकारहरूले राखेको जिज्ञासामा उनलेे छानबिनमा आफुले सहयोग गर्ने प्रतिक्रिया दिए ।

मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन ।’–भट्टराईले भने, वयान दिन म तयार छु । उनले उच्चस्तरीय छानविनको ढोका खुल्छ भने सबै खाले सहयोग गर्न आफू तयार नै रहने उल्लेख गरे ।

पार्टीको प्रदेश स्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूराभएकाले आफू त्यसभन्दा पनि अघि बढेर नयाँ बैकल्पिक शक्ति निर्माणकाे अभियानमा लागेको बताए ।

मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औल्याउँदै सोही अनुसार नेसपा अघि बढेको बताए । नयाँ राजनैतिक दलहरुप्रति इङ्गित गर्दै डा. भट्टराईले स्पष्ट विचार विना वैकल्पिक शक्ति नबन्ने उल्लेख गरे । ‘ती शक्तिहरुबाट क्षणिक लाभ होला दिर्घकालिन जाँदैन’ उनले भने ।

नेकपा एमालेले संसद अबरोध गरेको बिषयमा पत्रकारले राखेको जिज्ञासामा भट्टराईले त्यस बिषयमा टिप्पणी गर्न आवश्यक नरहेको बताए ।

समस्या परेपछि ठूला तीन दलका नेता बसेर सहमति गर्छन् अन्य दलले टिप्पणी गर्नुको अर्थ नहुने उनको भनाइ थियो ।

उनले विगतका आयोग जस्तो नभई बलियो र निस्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने बताए ।