दाङ,२५ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नामबाट धाकधम्की दिएर चन्दा संकलन गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुरबाट दुई जनालाई पक्राउ गरेको छ । बुधबार पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका-४ निवासी ३३ वर्षीय धनराज तुफान भनिने धनबहादुर परियार र सल्यानको छत्रेश्वरी गाउँपालिका-१ दमाचौरका २९ वर्षीय चन्द्रप्रकाश विक रहेका छन् ।
उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को लेटरप्याड प्रयोग गरी गत चैत ३ गते तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित हिमाल एकेडेमीका प्रिन्सिपल मधसुदन केसीसँग १० लाख रुपैयाँ र चैत २१ गते तुलसीपुर उपमहानगरपालिका-७ बुढागाउँ पर्सेनी बस्ने पूर्वशिक्षक इन्द्रबहादुर वलीसँग एक लाख रुपैयाँ चन्दा मागेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
त्यस्तै उनिहरूले गत जेठ १८ गते सल्यानको कपुरकोटस्थित कालिका माविका शिक्षक वामदेव अधिकारीसँग ५ लाख र असार २७ गते तुलसीपुर उपमहानगरपालिका-१८ स्थित बेलझुण्डी माविका शिक्षिका जानका बस्नेतसँग एक लाख रुपैयाँ चन्दा मागी धम्काएको प्रहरी नायव उपरीक्ष गौतमले बताए ।
रकम मागेको विषयमा कसैलाई भने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना घट्न सक्ने भनी उनिहरूले चेतावनी दिँदै आएको पनि गौतमले बताए ।
उनीहरुको साथबाट चन्दा रकम लिन प्रयोग भएका सिम, मोबाइल, चन्दा रकम मागका लागि प्रयोग भएको पत्र, विभिन्न व्यक्तिहरुका फोटो, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को नामको लेटरप्याड बरामद गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






