बुटवल,२५ साउन ।
लुम्बिनी प्रदेशका विभिन्न सहकारीमा जम्मा भएको एक अर्ब रूपयाँ जाेखिममा रहेको पाइएको छ ।

प्रदेश मातहत दर्ता भएका सहकारीहरूकाे नियमन गर्दै आएको सहकारी विकास बोर्ड लुम्बिनी प्रदेशका दर्ता अधिकारी भीम प्रसाद तिवारीले लुम्बिनी प्रदेश मातहत रहेका २० वटा सहकारीमा जम्मा भएको बचतकर्ताकाे करिब एक अर्ब रकम जाेखिममा रहेको बताए ।
लुम्बिनी प्रदेशमा दर्ता भएर सञ्चालन भएका २० वटा सहकारीहरू बिरूद्व उजुरी परेको भन्दै उनलेे उजुरी परेका सहकारीहरूकाे अनुगमन गर्ने र बचतकर्ताकाे बचत रकम सुरक्षीत गर्ने प्रयास भैरहेको जानकारी दिए ।
समस्याग्रस्त रूपन्देहीको देवदह स्थित आयाम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताकाे रकम फिर्ता गराउने कार्यका लागि देवदह आएका तिवारीले पत्रकारहरूसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।
रुपन्देहीको देवदहमा रहेको आयाम बहुउदेश्ययीय सहकारी संस्थाले गैर कानुनी रुपमा शेयर सदस्य तथा बचत कर्ताबाट उठाएको ४२ लाख १७ हजार १ सय २५ रुपैयाँ रकम बचत कर्ताहरुलाई फिर्ता गर्न सूरु गरीएको हो ।
यस अघि सहकारी रजिष्टारको कार्यालय, लुम्बिनी प्रदेशले अनुगमन गरी गैरकानुनी रुपमा सहकारी संचालन भईरहेको पुष्टि भएपछि संचालकहरुलाई कानुनि दायरामा ल्याई रकम असुलि गरी जिल्ला सहकारी संघ रुपन्देहीको बैंक खातामा रकम जम्मा गराएको थियो ।
बिहिबार लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल,सहकारी विकास बोर्ड लुम्बिनी प्रदेशका दर्ता अधिकारी भीम प्रसाद तिवारी,देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेल,जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचन, ईलाका प्रहरी कार्यालय खैरेनीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरी, देवदह नगरपालिका वडा नं.६ का वडाअध्यक्ष खेम बहादुर थापा मगर लगायतको रोहवरमा फिर्ता गर्न सुरु गरीएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले आर्थिक कारोवार गर्दा बैधानीकता बुझेर मात्र कारोबार गर्न बचतकर्ताहरुलाई अनुरोध गरे ।






