बुटवल,२४ साउन ।
बजार अनुगमनका क्रममा नगर प्रहरीमाथि हातपात गरेको अभियाेगमा प्रहरीले बुटवलको हाटबजारबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं ४ बस्ने माेहन श्रेष्ठ रहेका छन् ।

बुधबार अपरान्ह बजार अनुगमनका निस्किएको बुटवल उपमहानगरपालिकाकाे अनुगमन टोलीले सडक अबरोध हुनेगरि राखिएका सामाग्री हटाउन थालेपछि श्रेष्ठ लगायतका हाटबजार ब्यवसायीहरू अनुगमन टोलीमाथिनै आक्रमणमा उत्रिएका थिए ।

अनुगमन टोलीमाथि हातपात भएपछि घटनास्थल पुगेको प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

बजार अनुगमनका क्रममा नगर प्रहरीलेमाथि हातपात भएपछि प्रहरीलाई खबर गरेको र घटनास्थलबाट नियन्त्रणमा लिएका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाइएको बुटवल उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख जयश्वर पाण्डेले जानकारी दिए ।

सडक क्षेत्र ओगटेर राखिएका सामाग्री हटाउने क्रममा यसअघि पनि बुटवलमा नगर प्रहरी र ब्यापारीबीच हात हालाहालकाे अवस्था आएको थियो ।

साे घटनामा संलग्न भएकाहरूले माफी मागेर अब आइन्दा त्यस्तो कार्य नगर्ने र नगर प्रहरीलाई सहयोग गर्ने सहमतिमा मुद्दा नचलाई छाडिएको थियो ।