भैरहवा,२१ साउन ।
स्वतन्त्र नागरिक अभियानले एकीकृत सम्पत्ति करमा पुरानै दरकायम गर्न सिद्धार्थनगर सिद्धार्थनगर नगरपालिकासँग माग गरेको छ ।

आइतबार नगरप्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै अभियानले जनताको भावनाअनुसार एकीकृत सम्पत्ति कर वृद्धि गर्ने निर्णय सच्याउन माग गरेको हो ।

अभियानका संयोजक नारायण प्रसाद भण्डारीले अस्वभाविक कर बढाइएकाले यसलाई घटाउनुपर्ने माग राखेर नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको बताए ।

सिद्धार्थनगर नगरपालिकाले यसै आर्थिक वर्ष २०८०÷०८१ साउनदेखि लागू हुने गरी नगरवासीहरुबाट लिँदै आएको एकीकृत सम्पत्ति कर अस्वभाविक रुपमा वृद्धि गरेको उनले बताए ।

उनले जनसमुदायस्तरबाट जानकारी पाएअनुसार ७ सयदेखि १ हजार २ सय प्रतिशतसम्म करवृद्धि गरिएको देखिएको भन्दै जनगुनासोको आधारमा निर्णय सच्याउन नगरपालिकालाई अपील गरेको बताए । आर्थिक मन्दीले थला परेको अवस्थामा जनताको मत लिएर जनताको काममा राहत हुने किसिमको योजना दिनुपर्नेमा एकाएक करको दरसमेत अस्वभाविक रुपले वृद्धि गर्ने नीति ल्याउनु राम्रो नभएको भण्डारीको भनाइ छ ।

पुरानै करको दर कायम नगरे चरणबद्ध आन्दोलन गर्ने र नगरका सम्पूर्ण कर अवज्ञा गर्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

गरप्रमुख खानले करसम्बन्धी माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रतिक्रिया दिए । उनले सिद्धार्थनगर नगरपालिका जनतासाग सम्बन्धित कार्यालय भएकाले जनताको भावनाविपरीत जान नसक्ने बताए ।