बुटवल,१८ साउन ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको आरोप लगाएका छन् । पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको उनको आरोप छ । सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरुलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम गरेको भन्दै उनले यसैले एमालेले भ्रष्टाचार छानविनका लागि उच्च स्तरीय आयोग गठनको माग अघि बढाएको बताए ।
स्व. नेता जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बुधबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले भ्रष्टाचार सम्बन्धि मुद्दामा सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गरे ।
मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भिर नभएको टिप्पणी गर्दै नेता ज्ञवालीले मुलुकले ईतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरे ।
‘ईतिहासमै पहिलो पटक राजश्व संकलन गरेर कर्मचारीलाई तलब पुर्याउन समेत नसक्ने अवस्था सिर्जना भएको छ । निर्माण व्यवसायीहरुले काम पूरा गरेर पनि ८० अर्ब बढी भुक्तानी पाउन सकेका छैनन् ।’–नेता ज्ञवालीले भने, ‘प्रत्येक दिन आर्थिक संकटका कारण व्यवसायीले आत्महत्या गर्नुपरेको छ । तर सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’ प्रत्येक दिन व्यवसायीक प्रतिष्ठान तथा सटरहरु खाली हुँदै गएको उल्लेख गर्दै उनले सरकारले सीमिति व्यपारीलाई मात्रै पोष्ने काम गरेको टिप्पणी गरे । करको दरमा स्वार्थ अनुसार परिमार्जन गर्ने गरेका उदाहरणहरु प्रस्तुत गर्दै नेता ज्ञवालीले वर्तमान सरकारले सीमित व्यापारीलाई काखी च्यापेर अरुलाई पाखा लगाउने काम गरेको उल्लेख गरे ।
नेपालको असंग्न राष्ट्रको नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने सरकारको प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौती समेत थपिएको उल्लेख गरे । उनले दक्षिण एसियामा शक्ति राष्ट्रहरुको उदय हुँदै जानु र युरोपीयन मुलुक तथा सर्व शक्तिमान मानिएको अमेरीकाको प्रभाव कम हुँदै जाँदा शक्ति संघर्षले त्यसको नकारात्मक प्रभाव नेपालमा पनि पर्ने उल्लेख गरे । विश्वको राजनीतिक तरल अवस्थामा रहेको बताउँदै उनले उक्त कुरालाई बेवास्ता गरेर वर्तमान सरकारले अन्तर्राष्ट्रिय कुटनीतिमा लिने गरेको असंलग्न राष्ट्रको नीतिलाई छोड्दै जाँदा समस्या आउन सक्नेतर्फ सचेत गराए ।
नयाँ शक्तिहरुप्रति इंगित गर्दै ज्ञवालीले पछि दर्ता हुँदैमा र पछि जन्मिँदैमा नयाँ हुने नभई विचारले नयाँ हुन आवश्यक रहेको उल्लेख गरे । उनले जिवराजको विचार र उनको जिवनीबाट पाठ सिक्दै पार्टीलाई सदृढ गरी बलियो राष्ट्रिय शक्ति निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जिवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा विचार व्यक्त गर्दै एमाले उपमहासचिव ज्ञवालीले पार्टी भित्र अराजकता देखिएको भनि चिन्ता व्यक्त गरे । यसको समाधानका लागि जिवराजको विचार अनुशरण गर्नुपर्ने बताए ।
जिवराज आश्रित प्रतिष्ठान नेपाल र नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको संयुक्त आयोजनामा ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जिवराज आश्रितको दृष्टिकोण’ विषय विचार गोष्ठी आयोजना गरिएको नेकपा एमालेले जनाएको छ ।






