बुटवल, १४ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइसम्म पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीद्धारा आइतबार बिहान बुटवलमा आयोजित पत्रकार भेटघाटमा पौडेलले सुन तस्करी प्रकरणमा अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका हुन् ।
सुन तस्करी प्रकरणमा भरिया मजदुरलाई देखाएर उम्किन नमिल्ने भन्दै उनले गहिराइसम्म पुगेर अनुसन्धान हुनुपर्ने बताए ।
‘सुन कागज जस्तो हलुका बस्तु हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ?’ पौडेलले भने, ‘भरिया र मजदुरको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’
भ्रष्टाचारविरुद्ध पार्टीले आक्रामक ढंगले आवाज नउठाए जनताले साथ नदिने उनको भनाइ छ ।
संघीयता खारेज गर्ने नभई कम खर्चिलो र जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने चुस्त दुरुस्त बनाउन जरुरी रहेको भन्दै उनले केन्द्रदेखि प्रदेशसम्मका सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने बताए ।
संघीयतालाई बलियो र दिगो बनाउने भए सांसद, मन्त्री र कर्मचारीको संख्या घटाउनैपर्ने उनको धारणा छ । ‘संघीयतालाई चुस्त र छरितो बनाउन पहिला सांसद र मन्त्रीको संख्या घटाउने, त्यसपछि कर्मचारीको संख्या घटाउनपर्छ,’ उनले भने ।
उनले आफु लगायत केही केन्द्रिीय सदस्यहरुले संघीय संसद २०१ सदस्यीय, राष्ट्रिय सभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ जनाको र प्रदेश मन्त्रिमण्डल ५ जनाको हुनुपर्छ भन्ने प्रस्ताव पार्टीमा राखेको जानकारी गराए ।
हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै उनले घटाइएको संख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले बताए ।
पुँजीगत खर्चभन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै उनले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए । विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पुँजीगत खर्च हुन सकेको बताउँदै उनले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको दाबी गरे ।
पौडेलले नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको लाइभले अब निरन्तरता पाउने बताउँदै अब पछाडि फर्कन नसक्ने बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सचिब कपिल ज्ञवालीले सहजिकरण गरेका थिए ।






