बुटवल,१३ साउन ।
मानव वेचविखन विरुद्ध निजी क्षेत्रको अभियान राष्ट्रिय व्यवसायिक पहलद्वारा सञ्चालित सम्मान परियोजना अन्तरगत सञ्चालित कार्यक्रमको बारेमा बुटवलमा छलफल भएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले नेपालमा समावेशी सामाजिक–आर्थिक विकासको माध्यमबाट दिगो शान्ति स्थापना गर्ने उद्देश्यले नेपालका निजी क्षेत्रको अग्रणी संस्थाहरुको सहभागितामा २०६२ मा संस्था स्थापना गरिएको जानकारी गराए । उनका अनुसार यो संस्था असल व्यावसायिक अभ्यास, सामाजिक उत्तरदायित्व, उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक विकासको क्षेत्रमा क्रियाशिल छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र संयुक्त अधिराज्यको यूके एडको सहयोगमा विनरक इण्टरनेशनलले कार्यान्वयन गर्दै आइरहेको हाम्रो सम्मान जिम्मेवार उद्योगी, सरकारी तथा गैह्रसरकारी संस्था तथा नागरिक समाज र व्यवसायीहरुको सञ्जाल निर्माण गरी मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ ।
यो परियोजना अन्तर्गत राष्ट्रिय व्यवसायिक पहलले निजी क्षेत्रलाई मानव बेचबिखन विरुद्धका कार्यमा सक्रिय बनाउँदै आएको छ । यसै क्रममा निजी क्षेत्रले मानव बेचबिखन रोकथाम गर्ने तथा शोषणमा परेकालाई सेवा र सहयोग उपलब्ध गराउन प्रतिबद्ध गराउने जिम्मेवारी लिएको उनले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले मानव वेचविखन न्यूनिकरण र वेचविखनमा परेकाहरुको उद्धारमा स्थानीय तह पनि जिम्मेवार हुनुपर्ने बताए । उनले स्थानीय तह आफैमा स्रोत, साधन र अधिकार सम्पन्न भएकाले त्यस्ता व्यक्तिको उद्धार र पुनस्थापनाको लागि काम गर्न कुनै समस्या नहुने उल्लेख गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य समेत रहेका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मानजनक बाच्न पाउने अधिकार सुनिश्चित गर्न सकियो भने सुसंस्कृत समाज निर्माण गर्न सकिने बताए । उनले यो अभियानमा साथ र सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १५ का अध्यक्ष शिव रानाले परियोजनाले अगाडि सारेका कुरामा नगरपालिकाको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य ध्रुवकुमार श्रेष्ठले यो परियोजना एउटा सकारात्मक चिन्तनबाट सुरु भएकोले निजी क्षेत्रको पनि साथ र सहयोग प्राप्त भएको बताए ।
त्यस्तै कार्यक्रममा माईती नेपालकी गंगामाया थापाले वेचिएका संगै जोखिममा रहेकालाई पनि यो कार्यक्रममा समेट्न सके अझै राम्रो हुने धारणा राखिन् ।
परियोजनाकी कार्यक्रम संयोजक योगिता बज्राचार्यले काठमाण्डौ, रुपन्देही सहित १० वटा जिल्लामा अभिमुखिकरण गर्नुका साथै १९ वटा संघसंस्था र ३५ वटा कम्पनीहरु यो सञ्जालमा समेटिएको जानकारी गराइन् । लक्षित वर्गको आवश्यकता अनुसार निजी क्षेत्रबाट कानुनी सेवाहरु, शिक्षा, तालिम तथा रोजगारी, यातायात सेवा, स्वास्थ्य तथा मनोपरामर्श सेवा, व्यवसाय गर्न सहयोग, आर्थिक सहयोग, आवास लगायतका सेवाका क्षेत्रमा सहयोगको प्रतिवद्धता व्यक्त भएको पनि उनले जानकारी दिइन् ।
बेचबिखनमा परेर फर्किएका महिलालाई सहज जीवन यापनमा सहयोग गर्ने गरी सम्मान परियोजनाले पहल तथा पैरवी गर्दै आएको छ ।
यो परियोजना द्वन्द्वको समयमा सुरु गरिएको थियो । द्वन्द्व सकिएपछि पनि परियोजनालाई निरन्तरता दिँदै निजी क्षेत्रको सहकार्यमा वेचिएर फर्किएकाहरुलाई परिवार तथा समाजमा पुनस्थापना र उनीहरुको सहज जीवनयापनको लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको क्षेत्रमा काम गर्दै आएको छ






