बुटवल,१२ साउन ।
बुटवल उपमहानगरपालिकाले क्षेत्राधिकार बाहिर गएर टेम्पो चालकहरुलाई दुख दिएको टेम्पो चालकहरुले गुनासो गरेका छन् ।
तिनाउ टेम्पो यातायात प्रा लि ले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरपालिका र ट्राफिक प्रहरीले आफुहरुमाथी ज्यादती गरेको गुनासो गरेका हुन् ।
यातायात ब्यवस्था कार्यालयमा दर्ता भएर सञ्चालन भएका टेम्पोहरुलाई बिभिन्न बहानामा उपमहानगरपालिकाले एउटा टेम्पोलाई एक महिनाको अबधिमा २६ हजार रुपयाँसम्म जरिवाना तिराएको तिनाउ टेम्पो यातायात प्रा लिका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठले बताए ।
उनले उक्त कार्य बन्द गर्न माग गरे ।
टेम्पो चालक जिवलाल भुसालले बुटवल उपमहानगरपालिकाले बिभिन्न बहानामा टेम्पोहरुबाट ५ हजारदेखि १० हजारसम्म जरिवाना अशुल गर्ने गरेको भन्दै टेम्पो धनिहरु दोहोरो करको मारमा परेको र कर तिरेर पनि चलाउन नपाउदा पिडित भएको गुनासो गरे ।
अर्का टेम्पो चालक दीनेश नेपालीले आफुलाई उपमहानगरपालिकाले दुई पटक पाँच ÷पाँच हजार र एक पटक १० हजार गरेर २० हजार जरिवाना तिराएको बताए ।
मजदुर नेता बाघ बहादुर बुढाले नेपाली नागरिकले देशका जुनसुकै ठाउमा गएर पेशा ब्यवसाय गर्न पाउने अधिकार बिपरित बुटवल उपमहानगरपालिकाले नगरकै स्थायी बासिन्दालाई मात्रै टेम्पो चलाउन दिने मापदण्ड बनाएको भन्दै सो मापदण्ड खारेज गर्नुपर्ने माग गरे ।
इञ्जिनबाट चल्ने टेम्पोको नियमन गर्ने कार्य उपमहानगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने भन्दै उनले ट्याक्सि सरह कर तिरेर यातायातमा दर्ता भएका टेम्पो जुनसुकै समथर भूभागमा चल्न पाउनुपर्ने बताए ।
उता बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भने उपमहानगरपालिकाले टेम्पोहरुको दर्ता नगरेको भन्दै रुट परमिट मात्रै दिने गरेको प्रतिक्रिया दिए ।
बुटवल भित्र १४४० ई रिक्सा तथा अटो टेम्पो सञ्चालन गर्न दिने मापदण्ड बनेको भन्दै सोही मापदण्डका आधारमा कार्यबिधि बनेको र मापदण्ड बिपरित सञ्चालन भएका ई रिक्सा तथा अटो टेम्पोलाई जरिवाना गरिएको दाबी गरे ।






