बुटवल,५ साउन ।
बुटवलकाे नेपालगन्ज राेडबाट याेगिकुटी जाेड्ने कालिकापथ सडकले निकास पाएकाे छ ।
बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्ने कालिकापथ सडककाे निकास खोलेको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो ।
यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जानेआउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनले ४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मदत गर्ने बिस्वास ब्यक्त गरे ।
प्रादेशिक अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्ने पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाइएको उनलेे बताए । ‘कालिकापथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ-उहाँले भन्नुभयो-यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ।’
बुटवल उपमहानगरपालिकाले सो क्षेत्रमा डोजर लगाएर सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयले खुशी प्रकट गरेका छन् ।






