बुटवल,३ साउन ।
बुटवलबाट प्रहरीले करिब १० लाख रुपैयाँबराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार ५ सय रुपैयाँ मूल्यबराबरको मोबाइल र पाटपुर्जा बरामद गरेको हो ।
अवैध मोबाइल तथा पाटपुर्जा ल्याएको अभियोगमा प्रहरीले सोमबार राति बुटवल-१२ रामनगरबाट सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामू अर्यालका अनुसार शुद्धोधन गाउँपालिका-४ का २३ वर्षीय दिनानाथ थारु पक्राउ परेका छन् । उनीसँग स्कुटर र विभिन्न किसिमका २३ थान मोबाइल पनि बरामद गरिएको छ ।
साथै चार्जर, ब्याट्री र मोबाइलको डिस्प्लेलगायतका सामान पनि बरामद भएका छन् । डीएसपी अर्यालले बरामद सामान अनुसन्धानका लागि भन्सार कार्यालय बेलहिया पठाइएको बताए ।






