बुटवल,१ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं. १६ ले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुलदेखि खानेपानीको महशुल तिरिदिने भएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि वडाको कार्यालय नरैनापुरमा सोमबार वडाध्यक्ष र सदस्यहरुको बैठकले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुदेखि १० युनिट पानी खपत गर्ने घरको खानेपानीको महशुल वडाले तिरिदिने निर्णय गरेको हो ।

बैठकले करिब ४ सय हेक्टर भूमिमा खेती हुँदै आएको वडामा समुहत रुपमा संचालनमा आएका ५ वटा भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुल तिर्ने निर्णय गरेको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
करिब ६७५ घरधूरी रहेको वडामा सिचाईको लागि आकासे पानी र भूमिगत सिचाईको भर पर्नु पर्ने बाध्यता छ । एक घण्टा भूमिगत सिचाई प्रयोग गरेबापत कृषकले दुईसय रुपैँयादेखि ६ सय रुपैँयासम्म तिर्न बाध्य थिए ।

भूमिगत सिचाईको पानीको महशुल महङ्गो हुने भएकाले वडा कार्यालयले विद्युतीय महशुल तिरिदिने निर्णय गरिएको अध्यक्ष पौडेलले बताए ।
त्यसको लागि वडाले ५ लाख बजेटको ब्यवस्था गरेको र किसानलाई केही भएपनि राहात मिल्ने उनको भनाई छ ।
यस्तै वडाले १० युनिटसम्म खानेपानी खपत गर्ने घरको महशुल तिरिदिने निर्णय समेत गरिएको अध्यक्ष पौडेलले बताए । यसबाट करिब १५० घरधुरी लाभान्वित हुने आकलन गरिएको पौडेलले बताए ।

बुटवल उपमहानगरपालिकाबाट वडा नं. १६ का लागि यस आर्थिक वर्षमा वडाले खर्च गर्न पाउने ७२ लाख बजेट परेको बताउँदै उनले यही बजेटबाट किसान तथा गरिब परिवारलाई राहातका कार्यक्रम ल्याईएको जानकारी गराए ।

वडा कार्यालयले सिचाईको महशुल तिरिदिने भएपछि कृषकहरु खुशी भएका छन । यसले गर्दा वडामा कृषि उत्पादनमा बृद्धि हुने र किसानलाई केही भएपनि राहात मिल्ने अपेक्षा लिईएको छ । यस्तै वडा कार्यालयमा आउने सेवाग्राहीलाई फोटोकपि र निवदेनमा कुनै शूल्क नलाग्ने ब्यवस्था गरिएको वडाध्यक्ष पौडेलले बताए । नरैनापुर आभारभूत विद्यालयमा सिसिटिभी क्यामेरा जडान , सार्वजनिक शौचालय निर्माण र २ वटा सार्वजनिक स्थलमा निःशूल्क वाईफाईको ब्यवस्था वडाले गर्ने भएको छ ।