बाँके,३१ असार ।
लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री एवं एमाले नेता विजय बहादुर यादव पक्राउ परेका छन् । उनलाई बैङ्किङ कसुर मुद्दामा बाँके प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतबार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।

बैङ्किङ कसुर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बाँके प्रहरी प्रवक्ता,प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गरे ।

नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका यादव अघिल्लो चुनावमा टिकट नपाए पछि जसपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

पार्टीको निर्णय बिपरित दाेस्राे पटक शंकर पाेखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरेपछि उनकाे प्रदेश सभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो ।

पछिल्लो चुनावमा भने उनी एमाले प्रवेश गरेका थिए ।