उपभोक्ता समिति र ठेकेदारका मान्छेहरुले कर्मचारीलाई थुनेर भौतिक आक्रमणको प्रयास गर्दा पनि जनप्रतिनिधि मुकदर्शक बनेको गुनासो
पाल्पा,२९ असार ।

पाल्पाको माथागढी गाउँपालिकाका कर्मचारी सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् ।
भुक्तानीका विषयमा उपभोक्ता समिति र ठेकेदारहरुले अनुचित दबाद दिएपछि सुरक्षाको माग गर्दै उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।

उपभोक्ता समिति र ठेक्काबाट गराइएका कामको भुक्तानीका विषयलाई लिएर अभद्र व्यवहार र आक्रमणको प्रयास गरिएको भन्दै गाउँपालिकाको सिंगो कर्मचारी परिवार सुरक्षाको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराएका छन् ।प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, लेखा अधिकृत सन्तोष दाहाल, इन्जिनियर धर्मेन्द्रकुमार यादव र लेखापाल टीकाराम बस्यालले दोषीउपर कारबाही नभएसम्म गाउँपालिकामा उपस्थित भई कामकाज गर्न सक्ने अवस्था नरहेको निवेदनमा उल्लेख गरेका छन् ।

‘सम्पूर्ण कर्मचारी निर्धक्क भएर कानुनबमोजिमका कामकाज गर्न पाउने र शान्ति सुरक्षाको प्रत्याभूति हुने वातावरणसहित दोषीउपर कानुनबमोजिमको कारबाही गरी पाउँ,’ निवेदनमा उल्लेख छ, ‘कर्मचारीहरूमाथि भएका अभद्र व्यवहार र आक्रमण प्रयासका प्रमाणहरू हामीसँग सुरक्षित छ ।’

असार २३ गते सूत्र प्रणालीमा पटक–पटक समस्या आएको र २४ गते बेलुकासम्म उक्त प्रणाली नचल्दा केही फाइल सदर हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । उनका अनुसार ‘सूत्र प्रणाली चालु रहँदासम्म भरसक कुनै पनि भुक्तानी बाँकी राख्न नपरोस् भन्ने अभिप्राय र भौचर उठाइसकेका फाइलहरू इएफटी सदर गर्न मिल्छ भन्ने बुझाइ रह्यो,’ उनले भने, ‘सूत्रप्रणाली चलेसम्म राती पौने १२ बजेसम्म भौचर उठाई लगभग सम्पूर्ण योजनाको काम सकिएको हो ।’

उठिसकेका भौचरहरूको पनि इएफटी गर्न नमिल्ने गरी प्रणाली लक भएको र भुक्तानीसम्बन्धी धेरै सेवाग्राहीको गुनासो आएकामा जनप्रतिनिधिलाई समेत यथार्थ व्यहोराको रिपोर्टिङ गरी सेवा पुनः सुचारु भई भुक्तानी हुने सम्भावनाबारे आश्वस्त पारेको उनले बताए ।

असार २६ गते कार्यपालिका बैठकमा लेखा अधिकृत दाहाललाई उपस्थित गराई भुक्तानीसम्बन्धी विषयमा हुर्मत लिने कार्य भएको समेत निवेदनमा उल्लेख छ । २७ गते लेखा शाखामा प्रणाली चल्ने प्रतीक्षा गर्दै अन्य नियमित काम गरी बसेको अवस्थामा एक्कासि भीडले लेखा शाखा घेराउ गरी कार्यकक्षमा ताला लगाई थुनामा राखेको निवेदनमा जनाइएको छ ।

भीडले कर्मचारीलाई अनेकन गालीगलौज गरेको भिडियोसमेत सुरक्षित रहेको कर्मचारीहरुले बताएका छन् । लेखा अधिकृतलगायतका कर्मचारीलाई ज्यान लिनेसम्मको धम्की दिएको र थुनिएका लेखाका कर्मचारीलाई झ्यालबाट लठ्ठीले घोची भौतिक आक्रमणसमेत गर्ने कार्य गरेको निवेदनमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरूकै सामुन्नेमा अभद्र व्यवहार हुँदा उचित संरक्षण र अभिभावकत्वको महसुस गर्न नसकेको उनिहरुको गुनासो छ । भीडमा योजना तथा कार्यक्रमसँग सम्बन्धित भन्दा असम्बन्धित व्यक्ति धेरै रहेको निवेदनमा उल्लेख छ ।

घटनाबारे प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले निवेदन र अन्य प्रमाणहरू प्राप्त भएको बताए । ‘विवाद हुने दिनसम्म करोडौंको भुक्तानी बाँकी रहेको देखिएको छ,’ उनले भने, ‘उपभोक्ता आक्रोशित भएको देखिएको छ । समयमा भुक्तानी नभएकाले समस्या भएको हो ।’

जनप्रतिनिधिलाई समेत संरक्षण नदिएको भन्ने ब्यहोरा निवेदनमा उल्लेख भएकाले दुई पक्षको यथार्थ कुरा बुझेपछि मात्र अघि बढ्न सकिने उनले बताए ।
गाउँपालिका अध्यक्ष यम चिदीले इएफटी खुल्ने र भुक्तानीको विषयमा समाधान निकाल्ने प्रयास भइरहेका बेला उपभोक्ताले घेराउ गरेको बताए । उपभोक्ता समितिका साथै ठेक्कामा भएका कामहरूको भुक्तानीका लागि भीड जम्मा भएको र उनीहरूले गुनासो राख्न आएको उनले बताए । कर्मचारीलाई अभद्र व्यवहार गर्न नदिन आफू पालिका बैठक रोकेरै सहजीकरण गर्न पुगेको अध्यक्ष चिदीको दाबी छ ।