बुटवल,२५ असार ।
नेपाल कारखाना श्रमिक संघ रुपन्देहीले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैंया तोक्न माग गर्दै श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेससँग आवद्ध कारखाना श्रमिक संघ रुपन्देहीले सोमबार श्रम तथा रोजगार कार्यालय बुटवल मार्फत श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
सरकारी कार्यालयका सहयोगीको मासिक पारिश्रमिक २६ हजार रुपैंया रहँदा निजी क्षेत्रमा काम गर्ने मजदुरको न्यूनतम पारिश्रमिक १५ हजार रुपैैयाँमा मात्रै काम गर्नुपर्दा श्रमिकको गुजारा चल्न कठिन भएको भन्दै ज्ञापन पत्रमा श्रमिकको मासिक न्यूनतम पारिश्रमिक २५ हजार रुपैंया तोक्न र प्रचलित कानूनले व्यवस्था गरेको समयावधी भित्र प्रकृया पुरा गरी व्यवहारिक कार्यान्वयनको पक्षलाई सुनिश्चित गर्न माग गरिएको छ ।
विद्यमान अवस्थामा श्रमिकलाई दिइदै आएको पारीश्रमिकले श्रमजिवीलाई जिवनयापन गर्न पर्याप्त नभएको र अर्को तर्फ नेपालको श्रम ऐन २०७४ मा व्यवस्था भए अनुरुप प्रत्येक २ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमिकहरुको न्यूनतम पारीश्रमिक निर्धारण गरी समयमा नै लागु गर्नुपर्ने कारखाना मजदुर संघ रुपन्देहीकी अध्यक्ष कृष्णमाया रानाले बताइन् ।
असार मसान्त सम्ममा त्रिपक्षीय सहमतिको आधारमा न्यूनतम पारिश्रमिक निर्धारण गरी श्रावण १ गते देखी लागु गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड यूनियनबीच पटक पटक छलफल भए पनि सहमती हुन नसकेकोमा आफूहरुको गम्भिर ध्यानाकषर्ण भएको उनको भनाई थियो ।
नेपाल ट्रेड यूनियन कांग्रेस रुपन्देही, लुम्बिनी प्रदेश समिति, राष्ट्रिय समिति र नेपाल कारखाना श्रमिक संघ, राष्ट्रिय समितिलाई बोधार्थ दिईएको उक्त ज्ञापन पत्रमा संघले उठाएका माग सम्बोधन नभए औद्योगिक सुमधुर सम्बन्धमा पर्न जाने असर प्रति सम्बन्धित पक्ष नै जिम्मेवार रहने चेतावनी दिईएको छ ।






