बुटवल,२५ असार ।
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियाेगमा पक्राउ परेका १२ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, तिलोत्तमा नगरपालिका–६ का २५ वर्षीय हितेश राना, २४ वर्षीय दिपेश थापा, तिलोत्तमा–४ बस्ने १८ वर्षीय अमाकाश नेपाली, नवलपरासी रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिल कुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा ५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठेगानाका २६ वर्षीय दिपक रेगामी, बाग्लुङ बरेङ गाउँपालिका ५ घर भएका १९ वर्षीय आशिष सामत उनका दाइ २० वर्षीय दिपक सामत, बरेङ ५ कै २९ वर्षीय गारे भन्ने प्रमोद पुर्जा, र २२ वर्षीय मिलन खत्री गरेका छन् ।

पक्राउ परेका आरोपितहरुले आफूहरु बीच विभिन्न समूह बनाएर रुपन्देहीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी विक्री गर्ने गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी गराए ।

प्रत्यक्ष रुपमा मोटरसाइकल चोरी गर्ने तथा चोरीका मोटरसाइकल तथा तिनका पार्टपुर्जा विक्रिवितरणमा संलग्नहरुलाई समेत पक्राउ गरिएको उनले बताए ।

पछिल्लो ३/४ महिनाको अवधिमा चोरीका घटना अत्याधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोलीनै गठन गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको थापाले बताए । उनीहरुलाई रुपन्देहीसहित, काठमाडौं, बागलुङ, नवलपरासी लगायतका जिल्लाहरुमा पुगेर पक्राउ गरी बुटवल ल्याइएको पनि उनलेे जानकारी दिए ।

बुटवल लगायत यस क्षेत्रमा मोटर साइकल चोरी गर्ने अझै केही गिरोह सक्रिय रहेको बताउँदै उनले ती गिरोहहरुलाई समेत पक्राउ गर्नेगरी प्रहरीले अनुसन्धान र सक्रियता बढाएको उल्लेख गरे ।

प्रहरीले हराएका १४ वटा मोटरसाइकल फेला पारी सार्वजनिक गरेको हो । भेटिएका मध्ये ७ वटा मोटरसाइकलको सम्बन्धित धनी पत्ता लागेको र अन्यको समेत सवारी धनी पत्ता लगाएर जिम्मा लगाउने तयारी भएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।