बुटवल,२५ असार ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल मर्मत सम्भार गरेर आफ्नै भवनबाट औपचारिक रुपमा सेवा सुरु गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

मुलुक संघीयतामा गएपछि ६ वर्ष अघि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल लुम्बिनी प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेश सभाले लुम्बिनीको स्थायी राजधानी दाङको देउखरीमा राख्ने निर्णय गरेपछि गत मंसिरमा प्रदेश सभा स्थायी राजधानी दाङको देउखुरीमा सरेकाे थियो ।

गत मंसिरमा प्रदेश सभा स्थायी राजधानी दाङको देउखुरीमा सरे पनि प्रदेश सभा सचिवालयले भवन तथा सभाहल चैतको अन्त्यमा मात्रै संघलाई फिर्ता गरेको थियो ।

प्रदेश सभा सचिवालयले भवन तथा सभाहल फिर्ता गरेपछि संघले भवन तथा सभा हल मर्मत सम्भार गरेर आफ्नै भवनबाट सेवा सुरु गरिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।
सरकारले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेपछि यस क्षेत्रको बिकासको आशा र सरकारलाई सहयोग गर्ने गरी संघको कार्यालय भवन तथा सभाहल प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको उनले बताए ।