बुटवल,२१ असार ।
रुपन्देहीको भैरहवाका विभिन्न ठाउँमा चोरी, डकैती र लुटपाटजस्ता घटना संलग्न रहेको आरोपमा एक भारतीय महिलालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोरखपुरकी ४३ वर्षीया गीता तिवारी रहेकी छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ बाटिकास्थित दिपक यादवको घर भाडामा लिएर तिवारीको गिरोहले रुपन्देहीमा चोरी, डकैती र लुटपाटमा गर्दै आएको प्रहरीको दाबी छ ।

पक्राउ परेकी अभियुक्त भारतमा पनि अपराधिक गतिविधिमा संलग्न भएर पछिल्लो पटक जमानतमा छुटेको रुपन्देहीका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक भरतबहादुर बिकले बताए । उनका अनुसार गिरोहमा संलग्न अन्य चारजनाको खोजी भइरहेको छ ।

तिवारी बसेको घरबाट कटुवा पेस्तोल, १३ राउण्ड गोली, खुकुरी, चक्कु, छिनो, ५ थान मोबाइल, एक÷एक वटा मोटरसाइकल र स्कुटी, नेपालको बैंकको चेकलगायत नेपाली र भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

सिद्धार्थनगर–३ स्थित चिकित्सक हेमन्तकुमार हलुवाईको घरमा गत वैशाख ९ गते सुनका गहना र अन्य सामान गरेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल उनको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

यस्तै, सोही समूहले वैशाख २३ गते सिद्धार्थनगर–३ का चिकित्सक नरेन्द्र चौधरीको घरबाट सुनका गरगहनासहित ३ लाख २५ हजार रुपैयाँ, जेठ ३ गते अन्नपुर्ण टोलका हुमानाथ पाण्डेको घरबाट नगद ६० हजार, असार ११ गते ठूलो कलोनीस्थित श्याम सुन्दर अग्रवालको घरमा आक्रमण गरेर लुटपाट गरेको प्रहरीको दाबी छ ।

अभियुक्तले उक्त घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसँग स्वीकारेको प्रहरी उपरीक्षक बिकले बताए ।