बुटवल,२१ असार ।
लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको बजेट फास्ट ट्रयाकबाट पारित भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेको निरन्तर अवरोधका बीच मंगलबार राति प्रतिपक्ष दल र मुख्यमन्त्रीबीच सहमति भएपछि बुधबार फास्ट ट्रयाकबाट बजेट पारित गरिएको हो ।

बुधबार दिउँसो र राति दुई बैठक बसेर फास्ट ट्रयाकबाट बजेट पारित गरिएको हो ।

प्रदेश सभाको दोस्रो अधिवेशनको बुधबार बसेको सत्रौं बैठकले सरकारले सञ्चित कोषबाट केही रकम खर्च तथा विनियोजन गर्ने सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । त्यस्तै साढे ७ बजेपछि बसेको बैठकले सरकारको अर्थसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि बहुमतले पारित गरेको छ ।

दुवै विधेयकमा छोटो प्रक्रियामा दफावार छलफल गर्दै उठेका विषवबस्तुमा सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

बुधबारको बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले जानकारी गराए ।

सरकारका दुवै विधेयक प्रदेशसभाबाट पारित भएसँगै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको हो । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले असार १ गते आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट पेस गरेका थिए ।

सरकारले ल्याएको लुम्बिनी प्रदेशको आगामी वर्षको बजेटमा आर्थिक २०७५/०७६ देखिका क्रमागत योजनाको बजेट कटौती गरेको, निर्देशनालय खारेज गर्ने घोषणा गरेको र केही शीर्षकमा एकमुष्ट बजेट राखिएको भन्दै एमालेले निरन्तर विरोध गर्दै आएको थियो ।

बुधबारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभा बैठकमै सम्बोधन गर्दै विपक्षीदललाई सँगै लिएर सरकार अघि बढ्न खोजेको र प्रतिपक्ष दलले उठाएका सबै विषय सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रदेशसभा बैठक सुरु गर्ने सहमति भएको थियो । सहमतिपछि गरिएका सत्रौं र अठारौं दुवै बैठकमा पेस भएको विधेयकमाथि सत्तापक्षका प्रदेशसभा सदस्यले समर्थन र प्रतिपक्षका प्रदेशसभा सदस्यले विरोध गरेका थिए ।

प्रदेश सभाकाे आगामी बैठकको मिति सूचना टाँसेर जानकारी गराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।