फाइल तस्वीर ।
पाल्पा,२१ असार ।
पाल्पाको रिब्दीकोटमा गोरु पाल्ने किसानले प्रोत्साहन भत्ता
पाउने भएका छन् ।

गाउँमा खेतीयोग्य जमिन बाँझाे हुन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको हो ।

जिल्लाकाे रिब्दिकोट गाउँपालिका-१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भक्ता दिने भएको हो ।

गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

उनका अनुसार नयाँ किन्नेलाई पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भक्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको उनलेे बताए ।

कृषिलाई बढवा दिन यो नीति लिएको वडाध्यक्ष पोखरेलकाे भनाइ छ । गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्ने र घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुने उनको विस्वास छ । उनलेे गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको बताए ।

अहिले गाउँघरमा एकहल गोरुले खेतबारी जोतेमा दैनिक दुई हजार पाँच सयसम्म ज्याला पाउने गरेका छन् । घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाँझिने भएनन् अर्कोतर्फ खेतबारी जोतेर राम्रै कमाउन सकिनेछ ।