पाल्पा,२० असार ।
बिवादित पाल्पाको तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति गठन भएको छ ।
अवैधानिक रूपमा आफ्नो म्याद आफैं थप्दै आएको तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तानसेन नगरपालिकाले तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको अध्यक्षमा तानसेन नगरपालिका–२ का मोहनप्रसाद श्रेष्ठ चयन भएका छन् । तानसेनका खानेपानी उपभोक्ताहरूको भेलाबाट निर्णय भएअनुसार तदर्थ समिति गठन गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार तानसेनका उपभोक्ताहरूको भेलाकाे निर्णयका आधारमा नगर कार्यपालिकाको बैठकले श्रेष्ठको संयोजकत्मा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा तानसेन नगरपालिका–२ का राधेश्याम ज्ञवाली, सन्तोषकुमार नेपाल, तानसेन नगरपालिका–३ की दुर्गादेवी भट्टराई र लालमने अधै पुन, तानसेन नगरपालिका–५, का महेन्द्र बहादुर खाती क्षेत्री र तानसेन नगरपालिका–४ की दिल कुमारी शर्मा रहेका छन् ।
यही असार १३ गते तानसेनमा सम्पन्न उपभोक्ताको भेलाले पुरानो समिति विघटन गरी नयाँ समिति गठन गर्न गरपालिकालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
समितिको म्याद सकिएको तीन वर्ष पुग्दा पनि अधिवेशन नगरी आफै म्याद थप्दै काम गर्दै आएको थियो ।
उपभोक्ता समितिको कम चासोकै कारण तानसेनमा सधैँ पानीको समस्या हुँदै आएको छ । हिउँदमा कम्तीमा ७ देखि १२ दिनमा र वर्षायाममा कम्तीमा ४ देखि ७ दिनमा एक घण्टा धारामा पानी दिने गरेको छ ।
समितिले नयाँ विधान तयार गरी ६ महिनाभित्र खानेपानी उपभोक्ता समितिको निर्वाचन गराउने जिम्मेवारी पाएको छ ।






