परासी,१९ असार ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा आगलागी हुँदा ४ वटा पसलमा क्षति भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय बमबहादुर थापाको घरमा रहेको आशिष फोटो स्टुडियोमा आगलागी हुँदा स्टुडियो पूर्ण रूपमा जलेको छ । दिउँसो खाजा पकाउने समयमा ग्यास लिक हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट आशिष फोटो स्टुडियोका सञ्चालक ३१ वर्षीय सुरज चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेयले बताए ।

आगलागीबाट पर्वत युनिक फेन्सी, रविन फार्मेसी र जेके सैलुनमा समेत क्षति पुगेको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी बर्दघाट नगरपालिकाको दमकल‚ स्थानीय र प्रहरीको सहयोगमा करिब १ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।