बुटवल,१६ असार ।
नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा बरामद भएको दुई केजी सुनको ईट्टा प्रकरणकाे छानबिनका क्रममा बुटवलको अमरपथ स्थित बालाजी सुनचाँदी पसल सिल भएको छ ।
यही असार १० गते लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदह नाकाहुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको झण्डै २ किलो सुनको अनुसन्धानका क्रममा बुटवलको अमरपथ स्थित बालाजी सुनचाँदी पसलको संलग्नता देखिएको भन्दै साे पसल सिल गरिएको हो ।
भैरहवा भन्सार कार्यालयले सुरु गरेको अनुसन्धानको प्रारम्भिक अनुसन्धानमा बुटवलको अमरपथ स्थित बालाजी सुनचाँदी पसलको संलग्नता देखिएको भन्सार कार्यालय भैरहवाले जनाएको छ ।
अनुसन्धानका क्रममा सुन सहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले जानकारी दिए । गिरिको बयानका आधारमा बुटवलको बालाजी सुनचाँदी पसलमा सिल गरेर अनुसन्धान अगाडि बढाईएको भन्सारका सूचना अधिकृत भट्टराईले बताए ।
शसस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले असार १० गते १ केजी ९६५.३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । १ करोड मुल्य बढीको सुन बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधान अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।
नेपाल भारत सीमानामा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन बरामद भएको थियो । भन्सार मुल्यांकन अनुसार १ करोड ८५ लाख ६५ हजार ३५५ मुल्य कायम भएको बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको १५ लाख मुल्यको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई शसस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो ।






