बुटवल,१७ असार ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण सुचना टासेर स्थगित भएको लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसुचि रहेको छ ।
बजेटमा सत्तापक्षीय प्रदेश सभा सदस्यहरु समेत असन्तुष्ट रहेको बेला प्रदेशसभाको बैठक चल्ने र बजेट बारेको छलफल हुनेमा भने आशंका छ ।
अर्थमन्त्री धनबहादुर मास्कीले असार १ गते प्रदेशसभामा ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट पेस गरेका थिए । बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि छलफल सुरु हुन सकेको छैन ।
बजेटमाथिको छलफलका लागि असार १० गते आव्हान गरिएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो ।
त्यसपछि असार १३ गते बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरुद्ध गरेपछि सूचना टासेर आजसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकअघि बिहान ११ बजे कार्य ब्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
सरकार जसरी पनि बजेटमाथि छलफल गरी पारित गर्ने तयारीमा जुटेका बेला विपक्षी दल एमालेले भने आफूले उठाएको प्रशनको चित्तबुझ्दो जवाफ नपाएसम्म प्रदेशसभा चल्न नदिने अडानमा छ ।
प्रदेश सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले विपक्षी दललाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास गर्ने र सहमति जुट्न नसके पनि बहुमतका आधारमा अगाडि बढ्ने बताए ।






