बुटवल,१५ असार ।
बुटवल उपमहानगरपालिकाले असार १५ मा बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाएको छ।

उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो ।

बुटवल वडा नं १५ को आयोजना र वडास्तरीय कृषि व्यवसाय प्रवर्द्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २०औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवमा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा अध्यक्षहरु, महाशाखाका निर्देशकहरुसहित स्थानीयको सहभागिता रहेको थियो।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको १२ देखि १९ सम्मका वडाहरुमा खेतीयोग्य जमीन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडि बढाइरहेको बताए ।

उनले बुटवललाई आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको बताए । बुटवल १४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको बताउँदै आगामी वर्षदेखि तरकारी र धान गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको उनलेे जानकारी गराए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताए । उनले कृषिबाटै मुलुकको उन्नति हुने बताउँदै किसानले अझै बढी चासो दिनुपर्नेमा जाेड दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादनलाई बढाउनका लागि नगरले अनुदान र प्रोत्साहनका कार्यक्रम अगाडि सारेको बताए ।

नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले धान दिवसको अवसरमा धान खेतीको उब्जनी बढाउनका लागि अरु धेरै लगानी गर्ने तयारी रहेको बताए । उनले वडा नं १५ मा धान दिवस मनाएर नगरकै कृषि क्षेत्रको महत्व बढेको र यसले सकारात्मक प्रभाव पर्ने बताए ।