बुुटवल,१४ असार ।
पचास हजार लगानीमा कैलालीको टीकापूरबाट व्यवसायिक यात्रा सुरु गरेको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले अढाइ दशकको अबधिमा पाँच तारे होटल सञ्चालनमा ल्याउन सफल भएको छ ।
![]()
सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले रुपन्देहीको भैरहवामा पाँच तारे होटल ‘सिद्धार्थ भिलासा’ सञ्चालनमा ल्याएको हो ।
रुपन्देहीको भैरहवा स्थित अञ्चलपुरमा सञ्चालनमा आएको झण्डै चार विघा क्षेत्रफलमा फैलिएको यो पाँच तारे होटलमा साढे २ अर्ब रुपैयाँ लगानी रहेको आज भैरहवामा पत्रकारसम्मेलन गरी जानकारी गराइएको छ ।
निरन्तर अढाइ दशकको व्यवसायिक यात्राका क्रममा सिद्धार्थ ग्रुपले अर्को नयाँ परियोजना थप गर्न पाउँदा निकै खुशी लागेको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिका अध्यक्ष चिन्तामणि न्यौपानेले बताए ।
उनका अनुसार यो पाँच तारे होटलमा ८५ कोठा छन् । जसलाई एक्ज्युकेटिभ स्विट, स्विट र प्रेसिडेन्सियल स्विट गरी चार स्तरमा वर्गीकरण गरिएको छ । यहाँ लबि लौउन्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेण्ट तथा स्विमिङ पुल, फिटनेस, जिन स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लब सेवा, लंग टेनीस कोर्ट, गार्डेन, रहेका छन् ।
नेपालका पाँच तारे होटलमै सबैभन्दा ठूलो सभाहलसहित ३ वटा मिनि सेमिनार हल र एउटा मिटिङ रुमका साथै क्यासिनो समेत रहेको यस होटलमा करिब तीन सय कर्मचारी प्रत्यक्ष रोजगारी प्राप्त गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
गौतम बुद्धको जन्मस्थल तथा हालै मात्र सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको यस होटवलले स्वदेशी तथा विदेशी पर्यटकलाई राम्रो आतिथ्यता दिनुका साथै देशको पर्यटनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।
सामान्य खाजा पसलबाट सुरु भएको होटल अहिले आउँदा ३२ बढि हस्पिटालिटी सेवा र अन्य व्यवसायिक केन्द्रको विस्तार गर्न सफल भएको अध्यक्ष न्यौपानेले बताए ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानी गरी होटल, रेस्टुरेण्ट, रिसोर्ट, क्याफे, होटल म्यानेजमेन्ट, हस्पिटालिटी इन्स्टिच्युट, ट्रेडिङ्ग, कृषि उत्पादन, आइटी सेवा लगायतका विभिन्न व्यवसायिक क्षेत्रमा सञ्जाल बनाएर संगठित तथा संस्थागत रुपमा अघि बढिरहेको छ ।
२५ वर्ष अघि कैलालीको टिकापुरबाट सुरु भएको सिद्धार्थको व्यवसायिक यात्रा हालसम्म कणलीको चिसापानी, नेपालगञ्जको धम्बोजी र कारकाँदो, रुपन्देहीको बुटवल, भैरहवा, सुर्खेत, चितवनको चुम्लिङटार, काठमाण्डौँको सुन्धारा, तिनकुने, पुरानो वानेश्वर, बौद्ध, ललितपुरको धोबिघाटमा होटल तथा रेष्टुरेण्ट सेवा सञ्चालनमा रहेको सिद्धार्थ ग्रुपका सञ्चालक महेन्द्र न्यौपानेले बतए ।
होटलको सेवा थप गुणस्तरीय र व्यापक बनाउने उद्देश्यले चितवनको पर्यटकीय क्षेत्र सौराहसहित देशका अन्य स्थानमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।
न्यानो आतिथ्यता, मित्रवत व्यवहार, गुणस्तरीय र परिणामयुक्त सेवा दिन सक्नु सिद्धार्थका विशेषता रहेको र आवद्ध कर्मचारीलाई सेयर सदस्यका रुपमा आबद्ध गराई अपनत्वको भाव विकास गरेर हातेमालो गर्नु नै सिद्धार्थको पृथक पहिचान भएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
गुणस्तरीय ब्राण्डका रुपमा स्वदेश र विदेशमा समेत आफ्नो पहिचान स्थापित गर्ने उद्देशयका साथ नयाँ परियोजना लिएर आएको उनको भनाई छ । अहिलेसम्म विस्तार भएका सिद्धार्थ गु्रपका परियोजनामा प्रत्यक्ष अप्रत्यक्षरुपमा १६ सय देखि दुई हजार जनासम्मले रोजगारी पाएका छन् । भैरहवामा सुरु भएको पाँच तारे होटलको आगामि असोजमा औपचारिक उद्घाटन गर्ने तयारी छ ।






