बुटवल,१३ असार ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले रोजगारदातालाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार बुटवलमा आयोजित एक दिने बृत्ति मार्ग निर्देशन तथा रोजगार मेलाको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयल रोजगारदातालाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
रोजगार मेला मार्फत ११५ जनालाई रोजगारीको सुनिस्चितता भएको भन्दै उनले रोजगारदाताहरुलाई उपमहानगरपालिकाले सम्मान गर्ने बताए ।
बुटवल उपमहानगरपालिकाले छुट्टै रोजगार शाखा खोलेर बेरोजगारहरुलाई रोजगार बनाउने कार्यलाई अगाडी बढाएको जनाउदै उनले आगामि दिनमा त्यसलाई थप ब्यवस्थित बनाउने उल्लेख गरे ।
पछिल्लो समय युवाहरुको विदेश पलायन बढ्दो क्रममा रहेको भन्दै नगर प्रमुख पाण्डेयले रोजगार मेलाले युवाहरुलाई स्वदेशमै केही गरौं भन्ने भावनाको विकास गर्ने विस्वास ब्यक्त गरे ।
घर खर्च चलाउनकै लागि बैदेशिक रोजगारीमा जानुपर्ने एकथरीको बाध्यता रहे पनि पछिल्लो समय आर्थिक रुपमा सम्पन्न भएका युवाहरु समेत विदेश पलायन हुनु चिन्ताको बिषय भएको उनको भनाई थियो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बेरोजगार युवाहरुलाई रोजगारी उपलब्ध गराउने उदेस्यका साथ बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिएको भन्दै यसले बेरोजगार समस्या समाधानमा सहयोग पुग्ने बताइन् ।
बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला संयोजक समेत रहेका बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ,बिभिन्न रोजगारदाता संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मेलाको आवस्यकता र औचित्यका बारेमा आ आफ्नो भनाई राखेका थिए ।
हाम्रो समाजको श्रमशक्तिलाई गुणस्तरीय बनाउदै श्रमिकहरुको सीप र क्षमता अभिबृद्धि गर्दै युवाहरुमा कामलाई सम्मान गर्ने संसकृतिको विकास गर्ने र श्रम बजारमा उनिहरुको माग र सम्मान बृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने,रोजगारीको अवसर सिर्जन गर्ने उदेश्यले मेला आयोजना गरिएको बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला संयोजक पौडेलले बताए ।
बुटवल उपमहानगरपालिकाको आयोजना र नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको दिपक्षीय परियोजना–दिगो तथा सम्मानित रोजगारीका लागि सीप कार्यक्रम अन्तरर्गत एक दिने बृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सञ्चालन भएको हो ।






