दाङ,१३ असार ।
एमालेको अवरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक असार १७ गते आइतवारसम्मका लागि स्थिगीत भएको छ ।

बुधबार बसेको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेले अबरोध गरेपछि बैठक असार १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गएिको हो ।
बजेटमा योनजाहरु कटौती गरेको भन्दै एमालेका प्रदेश सभा सदस्यहरुले बैठक अबरुद्ध गरेका हुन् ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न भनेर बुधवार दिउँसो प्रदेश सभाको बाह्रौ बैठक बसेको थियो ।

बैठकको सुरूवातमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा प्रदेशका क्रमागत योजनाहरु कटौती गरिएको र निर्देशनालयहरु खारेज गर्ने कुराको विरोध जनाएका थिए ।

प्रदेश सभा बैठकको सुरुमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले कटौती गरिएका क्रमागत योजनाहरु बजेटमा पुनः समावेश गर्नुपर्ने र प्रदेशका निर्देशनालय खारेज गर्ने निर्णय सच्याउनुपर्ने माग राखेका थिए ।

आफूहरुले राखेका मागहरु सरकारले लिखित प्रतिवद्धता नगरेसम्म सदन चल्न नदिने प्रमुख सचेतक चौधरीले चेतावनी दिए । त्यसपछि सभामुख तुलाराम घर्तीले सरकारसँग आवश्यक छलफल र परामर्शका लागि भनेर आधा घण्टा बैठक स्थगित गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल एमालेसँग सहमति हुन नसकेपछि सूचना टासेर बैठक स्थगित गरिएको हो ।