बुटवल,१३ असार ।
नेपाल वायुसेवा निगम (एनएसी) ले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ । हाल काठमाडौंदेखि नयाँ दल्ली उडान गर्दै आएको निगमले भैरहवा स्थित गौतमबुद्ध
अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउन लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । १५ दिनभित्रमा भैरहवा–दिल्ली उडान शुरु हुने समेत उनले बताए ।

निगमले भैरहवाबाटै अर्को छिमेकी मुलुक चीनको हङकङसँग समेत सिधा उडान भर्ने तयारी गरेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । यी दुबै गन्तव्यहरुमा एकैपटक उडान शुरु गर्ने निगमको तयारी छ ।

उडान सेडूल, आवश्यक उडान व्यवस्थापनको सम्पूर्ण जानकारी एक/दुई दिनमै टुङ्गो लाग्ने प्रवक्ता पौडेलले बताए ।

पौडेलका अनुसार निगमले नयाँदिल्ली हङकङसहित अन्य मुलुकमा पनि भैरहवाबाट सिधा उडान विस्तारको योजना बनाएको छ । निगमले दुबई, कतारको दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट सिधा उडान गर्ने तयारी गरेको छ ।