बर्दिया,६ जेठ ।
प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आफ्नो अनसन तोडेका छन् । ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर गत वैशाख ३० गतेबाट बर्दिया जिल्ला स्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि गौतमले अनसन सुरु गरेका थिए ।
अनसन तोडाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नै बर्दिया पुगेका थिए । दुई पक्षबीच बारबर्दिया नगरपालि वडा नं. ११ स्थित अनसनरत स्थलमा वार्ता भई ११ बुँदे सहमति भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हिकमतबहादुर बोहराका अनुसार सहमतिपछि दिउँसो ३:३० बजेबाट गौतम अनसन तोडेका छन् ।
गौतमसँगै लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी पनि अनसनमा बसेका थिए भने स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि उनलाई साथ दिएका थिए ।
पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेको केही महिनामै जब्दीघाटको पुल २०७४ साल साउनमा भासिएको थियो भने ०७९ साल असोज २० गते बबई नदीमा आएको बाढीले पुल बगाएको थियो ।
बाढीले आधा भत्किएको पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग जोड्ने सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिकाको रम्मापुर सडक खण्डमा गाडी आउजाउ बन्द छ ।





