बुटवल,३ जेठ ।
बुटवलमा यही जेठ ६ र ७ गते हुने राष्ट्रिय पार्क सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
सम्मेलन तयारी समितिले बुधबार बुटवलमा पत्रकार सम्मेलनकाे आयोजना गरि सम्मेलनकाे तयारीबारे जानकारी गराएको हो ।
बुटवलको मणिमुकुन्द सेन उद्दान (फुलबारी) मा आयोजना हुने सम्मेलनमा पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा छलफल गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने जनाइएको छ ।
सम्मेलनमा देशभरका करिव १ सय पार्कबाट १५० देखि १६० जनासम्म सहभागी हुने राष्ट्रिय सम्मेलनका संयोजक तथा व्यवस्थापक संस्था मणिमुकुन्द सेन उद्दानका अध्यक्ष खेमराज लुइलेटले जानकारी दिए । व्यवस्थापन गर्ने संस्थाको रुपमा तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) समेत रहेको छ । जेष्ठ ६ र ७ गते हुने सम्मेलनमा रुपन्देही जिल्लाका विभिन्न पार्कहरुबाट समेत गरी ५ सय जनाको सहभागीता रहने जनाइएको छ ।
धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।
पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरुको ठूलो महत्व भए पनि राज्यले कानूनी रुपमा कुनै सम्बोधन नगरेको अवस्थामा सम्मेलनले कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको शर्माले बताए ।
सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानूनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहालले कार्यपत्र पेश गर्ने छन् । समुदायबाट सञ्चालित पार्कहरुलाई लगाइएको मूल्य अभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।
सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने भएकाले प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग सहयोगका लागि पहल गरिएको सदस्य सचिव सिलवालले जानकारी दिए । सम्मेलनले नेपाल पार्क महासंघ गठन गर्नुकासाथै बुटवल घोषणपत्रसमेत जारी गर्ने उनले बताए ।





