बुटवल,१ जेठ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र अर्थमन्त्रालयले उद्योगी व्यवसायीहरुले दिएका सुझाब अनुसारको बजेट ल्याएमा केही महिना भित्रै देशको अर्थतन्त्र सुध्रीने बताएका छन् ।
देशमा खस्कीदै गईरहेको अर्थतन्त्र सुधारका लागि नेपाल उद्योग बाणिज्य महासंघले सरकार र अर्थमन्त्रालयलाई यसअघि दिएका सुझाब कार्यान्वयन गरि बजेट ल्याउन पनि उनले आग्रह गरे ।
सोमबार बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको २९ औं परिषद सभालाई सम्बोधन गर्दै ढकालले नेपालको अर्थतन्त्रमा समस्या आउनुमा कुनै एकपक्ष मात्रै जिम्मेवार नरहेको बताउँदै अर्थतन्त्र सुधारकालागि सरकारले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
भारतीय सिमा नजिकै रहेकोले समस्याहरु आएको थाहा पाउँदा नरमाईलो लागेको बताउँदै उनले नजिक सिमाको फाईदा व्यवासयीहरुले उठाएर उठाउन सक्नुपर्ने बताए ।
बुटवल तथा रुपन्देही क्षेत्र बिभिन्न सम्भावना बोकेको क्षेत्र रहेको बताउदै अध्यक्ष ढकालले आफु पनि केबुलकार मार्फत यस क्षेत्रमा व्यवसायमा संलग्न हुन लागेको बताए ।
आफु अध्यक्ष भएपछि बिभिन्न कार्यहरु गरिरहेको बताउँदै उनले केही सकारात्मक परिणामहरु आईसकेको दाबी गरे । उनले आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्दै जाने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले संघीय सरकारले देशको आर्थिक अवस्था सुधार गर्नेगरि कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।
कुनै एउटा क्षेत्रको मात्रै भन्दा पनि देशकै आर्थिक अवस्था निकै कमजोर भएको बताउँदै उनले उद्योगी व्यवसायीहरुले दिएका सुझाबलाई नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई लुम्बिनी प्रदेशको राजधानी सर्दा केही घाटा लागेपनि त्यसको परिपूर्ती हुनेखालका कामहरु भईरहेको बताए । उनले बाहिर समस्याहरुमात्रै सुनाउनु भन्दा समाधानका उपायहरु लिएर उपमहानगर आउन आग्रह गरे ।
नगर सरकार सधै निजी क्षेत्रसंग साथमा रहेको बताउदै उनले निजी क्षेत्रसंग हातेमाले गरेर अगाडी बढ्ने बताए ।
उपमहानगरले आर्थिक मन्दीलाई ध्यानमा राखेर खर्च कटौती गरेको बताउँदै आफुहरु आफ्नो ब्यक्तिगत भन्दापनि जनताका काममा दिनरात खटेको बताए । उनले ज्योती नगर पहिरो, आर्थिक चलायमान कम भएको बुटवलको बजार कसरी बचाउने र छाडा चौपाया मुख्य समस्या देखिएकोले त्यसको व्यवस्थापनको कामहरुपनि भईरहेको जानकारी गराए ।
कार्यक्रममा संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य उज्ज्वलप्रसाद कसजूले पछिल्लो समय बुटवलमा आर्थिक चलायमान केही कम भएपनि यसलाई बढाउनको लागि बिभिन्न पहलहरु भईरहेको बताए । उनले घरभाडा घटाउने तथा कर पनि घटाउने सम्बन्धमा छलफल भईरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा ,बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, संघका पुर्व अध्यक्ष अर्जुनमान सैजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फुड एण्ड वेभरेज बस्तुगत समितिका सभापति कृष्ण पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले आ आफ्नो भनाई राखेका थिए ।
महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई सम्मान
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
सोमबार बुटवलमा आयोजित संघको २९ औं परिषद सभामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा लुम्बिनी प्रदेशबाट महासंघमा निर्वाचित महासंघका कार्यसमिति सदस्यहरुलाई सम्मान गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू सहित जम्शेर अली, मोहन श्रेष्ठ, केशवप्रसाद भण्डारी, भिष्मप्रसाद न्यौपाने, किशोर आचार्य, अव्दुल वाहिद अन्सारी निर्वाचित निर्वाचित भएका थिए ।
त्यसै अवसरमा लायन्स डिष्ट्रक गभर्नरमा निर्वाचित संघका सल्लाहकार पूर्वअध्यक्ष अर्जुनमान सैंजू, फष्ट भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित संघका सदस्य पुरुषोत्तम भक्त प्रधानाङ्ग र नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित संघका सञ्चार समन्वयकर्ता कविन्द्र नेपाललाई सम्मान गरिएको थियो ।
उनीहरुलाई बुटवल उपमहानगरपािलकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले कदरपत्र सहित माला लगाएर सम्मान गरेका हुन् । साथै सोही अवसरमा बस्तुगत समितिका सभापतिहरुलाई पनि सम्मान गरिएको थियो ।





