बुटवल,३१ बैशाख ।
बुटवलको बुद्धनगरमा नक्कली मह उत्पादन गर्ने उद्योग फेला परेको छ ।

वडा प्रहरी कार्यालय बुटवलको टोलीले नक्कली मह बनाउने कारखानाबाट ठुलो परिमाणमा बजारमा लैजान तयार अवस्थामा रहेको मह बरामद गरेको छ भने उत्पादनमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत देश विहार विरपुरका ५२ वर्षीय मनिस धामी सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधिर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेको वडा प्रहरी कार्यालय रामनगरले जताएको छ ।

प्रहरीका अनुसार विगत लामो समय देखि बुद्धनगरको सो उद्योगबाट नक्कली मह बनाएर बुटवल र त्यस आसपासमा ती समुहले बिक्री वितरण गर्ने गरेका थिए ।

बरामद गरिएको तयारी मह जस्तो देखिने पदार्थमध्ये केही बुटवल-११ सिर्जना नगरमै नष्ट कगरिएको छ भने केही मह वडा प्रहरी कार्यालय रामनगरमा लगिएको छ ।

बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्याल भैरहवामा नमूना पठाइएको वडा प्रहरी कार्यालय रामनगरका प्रमुख अर्जुन पौडेलले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।