बुटवल,२९ वैशाख ।
रूपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन भएको छ ।
कुबेत–भैरहवा उडान भर्दै आएको जजिरा एयरलाइन्सले उडान राेकेपछि भैरहवा स्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको हो ।
साे एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको विमानस्थल कार्यालयले जनाएको छ ।
गत ६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले फेरि आन्तरिक कारण देखाएर उडान रोकेको हो । जजिराले यसअघि एक हप्ताअघिदेखि नै उडान सुरु गर्ने बताएपनि प्राविधिक कारण देखाएर उडान नगरेकाे हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जजिराले रातमा उडान गर्दा विमामनस्थलमा ‘ओभर टाइम’ दिएर ड्युटी लगाउँदा सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि जजिराले उडान रोकेको बताउँछन् ।
जजिराले यसअघि मंगलबार, बिहीबार र शनिबार गरि हप्तामा तीन दिन नियमित उडान गर्दै आएको थियो । २ जेठ २०७९ मा उद्घाटन भएको विमानस्थल मौसमको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि उडान रोकेर फागुनदेखि फेरि सुरु गरेको थियो ।
अन्तर्राष्ट्रिय उडान रोकिंदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा लगानी गरेकाहरु चिन्तित छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सक्छ । तर, अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीले उडानमा चासो नदेखाउदा विमानस्थल सुनसान भएको छ ।





