बुटवल,१७ वैशाख ।
बुटवल उपमहानगरपालिकाले इरिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना महिला चालकलाई
बुटवल उपमहानगरपालिकाले सम्मान गरेको हो ।
महिला चालकहरूलाई सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका इरिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने घाेषणा गरे ।
पाण्डेयले इरिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए ।
उनले बुटवलमा इरिक्सा र टेम्पो चालक महिलाहरु स्वरोजगार बनेको र यसले बुटवलको प्रतिष्ठा बढाएको उल्लेख गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाई, राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका समुन्द्र जिसी, रिक्सा व्यवसायी प्रकाश खनाल, रिक्सा चालक महिलाहरु सुशीला अर्याल, मीना नेपालीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।





