बुटवल,१५ बैशाख ।
खुला सीमानाका तथा सरकारको खुकुलो भन्सार नीतिका कारण नेपाली उद्योगी व्यवसायी मारमा परेको भन्दै बुटवलका उद्योगी व्यवसायीहरुले सीमानाका तथा भन्सारमा कडाई गर्न माग गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको बस्तुगत समितिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बस्तुगत समितिका सभापतिहरुले खुला सीमानाका तथा सरकारको खुकुलो भन्सार नीतिका कारण नेपाली उद्योगी व्यवसायी मारमा परेको सीमानाका तथा भन्सारमा कडाई गर्न माग गरेका हुन् ।
सरकारको खुकुलो भन्सार नीतिका कारण नेपाली व्यवसायी मारमा परेको र सरकारको राजश्व संकलनमा समेत नकारात्मक असर परेको उनिहरुले बताए् ।
कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष नवराज श्रेष्ठले भन्सार जाँचलाई कडाई गर्नुपर्ने बताउँदै सीमा पारीबाट ल्याउने सम्पूर्ण माल बस्तुमा भन्सार लिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
यो समस्या बुटवलको मात्रै नभएको उनले आसपासका अन्य संघसंस्थासंग समन्वय र सहकार्यमा उपभोक्तामा पनि सचेतना गराउनु पर्ने उल्लेख गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले मुलुकको गिर्दो अर्थतन्त्रका कारण यस क्षेत्रको व्यापार व्यवसाय पनि खस्किँदै गएको बताउँदै खस्किँदो व्यापार व्यवसायलाई कसरी माथि उठाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायीसंग सुझाव सल्लाह लिईएको बताए ।
व्यवसायीले दिएका सुझाव सल्लाह अनुसार समाधानको पहलकदमी लिईने उनको भनाई थियो । खुल्ला सीमानाका र खुकुलो भन्सार नीतिका कारण नेपाली उद्योगी व्यवसायी मारमा परेको बताउँदै उनले यहाँका उद्योगी व्यवसायीलाई बचाउन भन्सारमा कडाई गर्नुका साथै गुमिरहेको राजश्व संकलन गर्न पनि सरकार गम्भिर हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा कपडा व्यवसायी बस्तुगत समितिका सभापति अनिल चुकेले नेपाली उपभोक्ताका कारण सीमापारीको व्यापार चम्किरहेको र नेपाली बजार सुनसान भएको बताउँदै भन्सारमा कडाई गर्ने हो भने केही हदसम्म भएपनि सुधार हुने बताए ।
त्यस्तै मोटर पार्टस, टायर बस्तुगत समितिका सभापति लक्ष्मण ज्ञवालीले चोरी निकासीका कारण वैध व्यवसायीलाई समस्या भएको बताउदै चोरी निकासी नियन्त्रणका लागि पहल गर्न आग्रह गरे ।
फेन्सी बस्तुगत समितिका उपसभापति अरुणकुमार श्रेष्ठले बुटवलको मात्रै नभएर यस क्षेत्रका सबै बजारको समस्या भएको बताउँदै यस क्षेत्रका अरु संघसंस्थाहरुसंग पनि सहकार्य गरेर समस्या समाधानको पहल गर्नुपर्ने भनाई राखे ।
फुड एण्ड वेभरेज बस्तुगत समितिका सभापति कृष्णप्रसाद पाण्डेले कोरोना महामारीको समयमा सीमानाका बन्द हुँदा बरु राम्रो व्यापार भएको बताउँदै खुल्ला सीमानाका यहाँका व्यवसायीको प्रमुख समस्या भएको बताए ।
दैनिक उपभोग्य बस्तुगत समितिका सभापति नारायणप्रसाद भुसालले पारीबाट किनमेल गरेर ल्याउने सामानमा भन्सार गर्ने परिपार्टी मिलाउने हो भने यहाँका सबै प्रकारका व्यवसायीको समस्या समाधान हुने बताए । ‘जान पाईँदैन भन्न त मिल्दैन, भन्सार नगरीकन ल्याउनै नपाईने व्यवस्था मिलाउने हो भने पारी जाने प्रबृत्तिको पनि अन्त्य हुन्छ र सरकारलाई राजश्व संकलनमा पनि सहयोग पुग्छ ।’ उनले भने ।
डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले एउटा विवाहको कार्ड देखाउने हो भने सिंगो पसललाई पुग्ने लत्ता कपडा पारीबाट ल्याउन सकिने बताउँदै यसलाई रोक्नको लागि संघले पहल गर्नुपर्ने आबस्यकता औल्याए ।
कार्यक्रममा संघका महासचिव बिमलराज भट्टराई, कार्यसमिति सदस्यहरु प्रकाश श्रेष्ठ, प्रतिक पोखरेल, व्यवसायीहरु सुनिता वञ्जाडे, कृष्ण पन्थ लगायतले आ आफ्नो भनाई राखेका थिए ।





