बुटवल,११ चैत ।
पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको अर्थतन्त्र चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।
अहिले संकलन भएको राजश्वबाट कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थामा रहेको बताउदै उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबै दलहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बताए ।
शनिबार बुटवलमा आयोजित पश्चिम नेपाल बस ब्यवसायी प्रालिको तेश्रो बार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै उनले मुलुकको राजस्व संकलन चालु खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले नेपालमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताउंदै यस्तो संकटको घडिमा दलहरु सत्ता पक्ष र प्रतिपक्ष नभनी साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने भन्दै पौडेलले २०२८ सालमा पनि यस्तै अवस्था रहेको स्मरण गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आफु रक्षा मन्त्री हुँदा बुटवललाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम तोके पनि राजधानी कायम हुन नसकेकोमा चिन्ता ब्यक्त गरे ।
उनले बुटवलबाट राजधानी सर्दा यस क्षेत्रमा परेको आर्थिक प्रभावलाई रोक्नको लागि बुटवललाई शैक्षिक तथा स्वास्थ्यको हबको रुपमा विकास गर्नुको बिकल्प नभएको बताए ।
कार्यक्रमा राष्ट्रिय यातायात ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष बिजय बहादुर स्वाँरले निजी क्षेत्रको १० अर्ब लगानी रहेको सार्वजनिक यातायात क्षेत्रको समस्या समाधानको लागि प्राधिकरण गठन हुनुु पर्ने बताए । देशभर ४ लाख बस ब्यवसायी रहेको र १० अर्ब लगानी हुँदा ११ लाख जनाले प्रत्यक्ष रोजगारी पाएको भन्दै उनले यातायात क्षेत्रलाई नियमन गरी ब्यवस्थित रुपमा प्राधिकरण गठन गर्नुपर्ने आवश्यकता औल्याए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवलबाट प्रदेशको राजधानी सर्दा परेको प्रभावलाई कम गर्न बुटवललाई आर्थिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालीका अध्यक्ष दधिराम खरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जिसि,संघका पुर्व अध्यक्ष चोप नारायण श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, पश्चिमान्चल ट्रक समितिका अध्यक्ष यामप्रसाद पाण्डे, यातायात ब्यवसायी तथा मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, आयोजक समितिका उपाध्यक्ष जिवन बन्जाडे, प्रबन्ध संचालक रामचन्द्र भुसाल लगाएतले यातायात ब्यबसायीहरुका समस्या र समाधानका उपायहरु बारे आ आफ्नो धारणा राखेका थिए ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा २३ सय ४७ शेयर सदय लिएका सवारी साधनहरु रहेको प्रालिका अध्यक्ष दधिराम खरेलले जानकारी दिए । प्रालिबाट संचालित सवारी साधनहरुमा ८ हजार मजदुरहरु कार्यरत रहेको उनले बताए ।






