अर्घाखाँची,२४ फागुन ।
लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीको घरमा चोरी भएको छ ।

प्रदेशका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको हो ।

आचार्यको परिवार घरमा नभएको मौका छोपी गए राती चोरी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको र घटनाबारे गम्भीर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।
मन्त्री आचार्यको घरबाट के–कति चोरी भयो भन्ने भन्नेबारे मन्त्री आएपछि यकिन हुने उनको भनाई छ ।

छिमेकीहरूका अनुसार डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडिएकोले धेरै सामान लगेको हुनसक्ने स्थानीयको आशंका छ ।

मन्त्रीकै घरमा पटक पटक चोरी भएपछि आफुहरुले असुरक्षित महसुस गरेको स्थानीयको भनाई छ ।