बुटवल,२१ फागुन ।
मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल भएको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल–१२ स्थित लम्साल आयल सप्लायर्समा जिल्ला अनुगमन समिति रुपन्देहीले पेट्रोल पम्प सिल गरेको हो ।

प्रत्येक ५ लिटरमा १५ एमएल कम वा बढीमा ३० एमएलसम्म बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड छ । तर उक्त पेट्रोल पम्पले ६५ एमएलसम्म बढी बिक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।

उनका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर बिक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने ऐनमा व्यवस्था छ ।

अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । तीन दिनभित्र सञ्चालक पशुपति लम्साललाई गुणस्तर तथा नापतौल कार्यालय बुटवलमा उपस्थित हुन अल्टिमेट दिइएको उनले बताए ।

अनुगमन टोली आउने सूचना पाएपछि सञ्चालकले कम बिक्री गरिरहेको मात्रालाई मिलाउँदा बढी बिक्री गरेको देखाउन यस्तो प्रयास गरेको हुन सक्ने आशंका समितिको छ ।

‘पाँच लिटरमा ६५ एमएलसम्म बढी तेल उपभोक्तालाई सित्तैमा कसैले दिँदैन, पक्कै पनि अनुगमन समितिलाई छल्न यस्तो गरिएको हुनुपर्छ’, अर्यालले भने, ‘अनुसन्धानको क्रममा केही तथ्य खुल्ला, यदि मेसिन नै बिग्रिएको हो भने प्रक्रिया पूरा गरेर मेसिन बनाएपछि पम्प सञ्चालनका लागि अनुमति दिन्छौं ।’

अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्ट्रिब्युटर्स, लुम्बिनी डिजल सेन्टर र एसके डिजल सेन्टरमा अनुगमन गरेको थियो ।