बुटवल,१८ फागुन ।
बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ ।

महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ । यस्तै ३ वटा विद्यालय अनुगमन, ८ वटा खेल संरचना अनुगमन, २२ वटा होटल तथा स्पा सेन्टर अनुगमन, १५ वटा सहकारी अनुगमन, ३ वटा विद्यालय अनुगमन र ८ वटा वडा कार्यालय अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा कानून र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थाहरुलाई कानूनबमोजिम कारबाही गरेको उनले बताए । आगामी दिनमा पनि निरन्तर अनुगमन हुने भएकाले उपभोक्ता र व्यवसायी तथा उत्पादकहरु सचेत हुनुपर्ने उनलेे बताए ।
बुटवलमा रहेका मिठाइ पसल र रेष्टुरेन्टहरुमध्ये केहीमा अखाद्य अवस्थामा पुगेको तेल फेला परेकोमा नष्ट गरिएको छ ।
केही मिठाई पसल र रेष्टुरेन्टले तेलमा लापरबाही गरेको, बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिंगा र किरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएकोमा सामग्री नष्ट गरी कानूनी कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले जानकारी दिए ।
उपभोक्ताको हितलाई ध्यानमा राखेर उत्पादन र बिक्री गर्नुपर्नेमा त्यसो नगर्नेलाई कानूनी कारबाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए ।
बुधबार र बिहीबार बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, सञ्चारकर्मीसहितको टोलीले बुटवलका मिष्ठान्न भण्डार, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट, क्याफे, मासु पसललगायतको अनुगमन गरेको थियो ।






