बुटवल,१७ फागुन ।
फागुन २५ देखि जजिरा एयरवेजले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरू गर्ने भएको छ ।

बुधबार कम्पनीले उडान तालिका सार्वजनिक गरेको छ । जजिरा एयरवेजले २५ फागुन २०७९ देखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्ने जनाइएको छ ।

उडान तालिका अनुसार कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडान भाडा कायम गरेको समेत जजिरा एयरवेजले जनाएको छ ।

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न लागिएको हो । यसबाट भारतीय नागरिकका बीचमा लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थल र आध्यात्मिक गन्तव्यका रुपमा प्रवर्द्धन हुने उनको भनाइ छ ।