बुटवल,९ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा मंगलबार बिहान बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा उद्योगी व्यवसायी, सुभेच्छुक र जनपथ तथा ससस्त्र प्रहरी समेत गरी ७१ जनाले रक्तदान गरेको स्थापना दिवस काकार्यक्रम संयोजक प्रकाश कुमार श्रेष्ठले जानकारी गराए । त्यस अवसरमा दुई जना नियमित रक्तदाताले जन्मदिनको अवसरमा रक्तदान गरेका थिए ।
रक्तदान गरेका रक्तदाताहरुलाई संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दानबहदुर थापा लगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।
त्यसैगरी स्थापना दिवसकै अवसरमा अनलाईन बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अनलाईन बजारलाई व्यवस्थित गर्नुपर्ने आवस्यकता औल्याए ।
‘दराज’सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले दर्ता नभएका अनलाईन बजारलाई दर्ता गर्न र करको दायरामा आउन आग्रह गरे । ‘हिजो डोकोमा बोकेर व्यापार गर्नुपर्ने समय थियो, अहिले यातायातले त्यसलाई व्यवस्थित गरेको छ ।’ उनले भने–‘अहिले सुपरमार्केट भन्दापनि अगाडि बढेर अनलाईन मार्केट आईसकेको छ, यसलाई व्यवस्थितगर्न आवश्यक छ ।’
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले समयको दौरानसँगै व्यवसाय पनि आधुनिक हुनु स्वभाविक भएको बताउँदै समयको मागसँगै अगाडि बढ्नु राम्रो भएको बताए । अनलाईन बजारमा एउटा समान देखाएर अर्को सामान डेलिभरी भर्ने गुनासाहरु आएको बताउँदै उनले अनलाईन बजार सञ्चालकले आफ्नो सेवाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।
दराजकी प्रोजेक्ट म्यानेजर हसिना महर्जनले दराजले दिने सेवाहरुको बारेमा जानकारी गराएकी थिइन् । उनका अनुसार दराजका दैनिक एक लाख ८१ हजार सदस्य छन् भने दराजले २ देखि २० प्रतिशत लिष्टिङ फि (कमिसन) मा काम गरिरहेको छ । दराज उत्पादक र उपभोक्तालाई जोड्ने अनलाईन प्लेटफर्म मात्रै रहेको दराजका सेलर कम्प्लाईन्स मार्केट इन्टेलिजेन्स म्यानेजर कश्यपप्रसाद मरहठ्ठाले बताए ।
दराजले प्यान र भ्याटमा रहेका कम्पनीसंग मात्रै चेक पेमेन्ट गर्ने बताउँदै एथेन्टिक समान नभए डवल मनीव्याक गर्ने च्यानल म्यानेजर आश्मा ढुंगानाले जानकारी गराइन् ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई, सचिव मुक्ति अधिकारी लगायतले पछिल्लो समयमा अनलाईन बजार व्यापक रुपमा आएको बताउँदै कतिपय अनलाईन बजारका कारण राम्रो अनलाईन बजारलाई पनि उपभोक्ताले त्यही रुपमा बुझ्न थालेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको भनाई राखेका थिए ।






