दाङ, ८ फागुन ।
सडक अलपत्र छोडेको भन्दै दाङमा स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।
लामो समयदेखि घोराहीको चार लेन सडक अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।
सडक नबनाएको विरोधमा उनिहरुले कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । सडकको निर्माण तथा मर्मत छिटोभन्दा छिटो गर्न दबाब दिन उनीहरुले सडक अलपत्र छोड्ने ठेकेदारलाई कारवाहीको माग समेत गरेका छन् ।
नागरिक समाजका संयोजक केवी मसालका अनुसार घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक निर्माण नहुँदा नागरिकले सास्ती खेप्नु परेको छ ।
सडकमा उड्ने धुलोले नागरिकको स्वास्थ्यमासमेत गम्भीर असर पुगेको उनले बताए । सडक छिटो भन्दा छिटो नबनाए आफूहरु कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।
सडक अलपत्र हुँदा दुर्घटना बढेको र नागरिकले ज्यान समेत गुमाउनु परेको भन्दै आफूहरु चुप लागेर नबस्ने स्थानीयको चेतावनी छ ।
धर्ना कार्यक्रममा सिद्धार्थ गौतमनगर टोल विकास संस्था, बयलडाँडा चौतारी क्लवको नेतृत्वमा गएको दवाव समुहमा दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।






