बुटवल,६ फागुन ।
आगामी मार्च ९ तारिखदेखि जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको जजिरा एयरलाइन्सले पुन:उडान सुरु गर्न लागेको हो ।
यस विषयलाई लिएर सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच शुक्रबार भैरहवामा छलफल भएको थियो ।
२०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।
जजिरा एयरलाइन्सको नेपालस्थित कर्मशियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि पुन: उडान सुरु गर्ने जनाएको छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जानकारी दिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिँदा निजी क्षेत्र निराश भएको अध्यक्ष न्यौपानेले बताए । विमानस्थल सञ्चालनमा आएसँगै यहाँ होटलमा अर्बौं लगानी भएको भन्दै उनलाई लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनुपर्ने बताए ।






